राजनीति

सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्छ : मन्त्री सिंह

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले राष्ट्रिय समाचार समिति (रासस) ले सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्ने बताउनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजित ‘लोकतन्त्रमा जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक समारोहमा प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री सिंहले राससलाई सत्तापक्षको मात्रै हो भन्ने बुझाइलाई चिर्दै समाचार सामग्री सङ्कलन र उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले सञ्चार माध्यमले स्वतन्त्रतापूर्वक आफ्नो धर्म निर्वाह गर्नुपर्ने र राससले पनि सबैको विश्वसनीयतालाई जोगाउँदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“मधेश प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको छ । हामी मधेश प्रदेशका समस्या समाधान हुने गरी काम गर्छौं । सङ्घीय लोकतन्त्र एवं गणतन्त्र स्थापनापछि विगत पाँच वर्षमा जनताले प्राप्त गरेका सेवा सुविधाका विषय पनि आउन जरुरी छ । यसमा राससलगायत सञ्चारमाध्यमको सहयोग अपरिहार्य छ । यसमा प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले छ दशकभन्दा लामो यात्रामा राससले देश र जनताको पक्षमा निरन्तर समाचार सम्प्रेषण गरी अलग्गै पहिचान बनाएकोले त्यसलाई जोगाउँदै आगामी दिनमा जनजीविकाका सवाललाई थप उजागर गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले सबै तह र क्षेत्रको मूल दायित्व देश र समाजको विकास नै भएकोले समाजका सत्यतथ्य समाचार सम्प्रेषण गरी मिडिया क्षेत्रले थप योगदान दिनुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले राससजस्तो बलियो संस्थाले स्थानीय सरकारलाई बलियो बनाउँदै विकास निर्माणका कामलाई प्रभावकारी बनाउने गरी समाचार दिनुपर्नेमा जोड्दिनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले राष्ट्र निर्माण र सहिदका सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने भन्दै यसमा राससलगायत सञ्चारमाध्यमको भूमिका थप महत्त्वूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले राष्ट्र तथा जनतालाई केन्द्रमा राखेर राम्रा र नराम्रा दुवै पक्षमा खुलेर कलम चलाउन आग्रह गर्नुभयो ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सरकारी माध्यमले सरकारी निकायले गर्ने गतिविधिमा पनि स्वतन्त्रतापूर्वक काम गर्न सक्नुपर्ने धारणा राख्नुभयो । जिम्मेवार पत्रकारिता भएमा लोकतन्त्र पनि मजबुत हुने भन्दै यादवले कमिकमजोरी सुधार्दै अगाडि बढ्न राससलगायत सबै सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

त्यसैगरी मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले प्रदेश सरकारलाई बलियो बनाउन र यहाँका गतिविधिलाई उजागर गर्न राससले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका मधेश प्रदेश अध्यक्ष राजेश कर्ण, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार कर्ण र गोरखापत्र दैनिकका मधेश ब्युरो प्रमुख धीरेन्द्रप्रसाद साहले पत्रकारितामा निष्ठाको पर्यायको रूपमा रहेको राससलाई बदलिँदो समयको आवश्यकताअनुसार रूपान्तरण, परिमार्जन र विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले मोफसलका लागि राससका बुलेटिन अहिले पनि जरुरी रहेकाले मानव विकास सूचकाङ्कमा पछाडि परेको मधेश प्रदेशमा राससले वार्षिक ‘क्यालेण्डर’ बनाएर भूमिका थप प्रभावकारी बनाउनसक्ने बताउनुभयो ।

रासस मधेश प्रदेश कार्यालय प्रमुख टिकाराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राससको मधेश प्रदेश भवनको स्तरोन्नति गर्ने कार्यमा सहयोग गरेबापत जनकपुरधाम उपमहानगरपालिकालाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.