बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढ्यो
तरलताको अभाव झेल्दै आएका वाणिज्य बैंकहरूमा माघ महिनामा निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको छ ।
नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु ४७ खर्ब ४१ अर्ब पुगेको हो ।
सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर रु ४७ खर्ब आठ अर्ब पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता रु १२ अर्ब, तेस्रो साता रु तीन अर्ब र चौथो सातामा रु चार अर्बले बढेको थियो । माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप रु १४ अर्बले निक्षेप बढ्दै रु ४७ खर्ब ४१ अर्ब पुगेको हो ।
माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए । पुस महिनाको तुलनामा माघ महिनामा रु १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ ।
माघमा बैंकहरूले रु १२ अर्ब कर्जा बढाएर रु ४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा रु ४२ खर्ब ८७ अर्ब रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्