जन सरोकार
करेन्ट लागेर दुई जनाको मृत्यु
देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कैलाली, टीकापुर नगरपालिका-१ स्थित ग्रिन एसिया होटलमा काम गर्ने बर्दिया राजापुर नगरपालिका-२ घर भएका ३५ वर्षीय सैलेश कुमार भुलको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
होटल नजिकै रहेको बिजुलीको ट्रान्सफर्मरबाट टेलिफोनको तार सडकको छेउमा आएकोमा उक्त तार हटाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-२ सप्तरी बस्ने ३३ वर्षीय दिपेन्द्र गुरूङको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्