नेपाली सेना जनताको आस्था र भरोसाको धरोहरका रूपमा स्थापित : रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहरका रूपमा स्थापित भएको बताउनुभएको छ ।

बिहीबार देखि सुरु दुई दिने पृतनापति समन्वयात्मक बैठक–२०८१ लाई सम्बोधन गदैै उहाँले जलवायु परिवर्तनबाट सिर्जित चुनौती, प्रविधिलगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
रक्षामन्त्री राईले विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरण र हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानमा चलिरहेको द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनै प्रभाव पार्ने उल्लेख गर्दै त्यसका लागि सदैव चनाखो हुनुपर्ने बताउनुभयो ।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हालको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सृजना हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
प्रधानसेनापति सिग्देलले भविष्यका सुरक्षा चुनौतीलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्