ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : ब्राजिलियन राष्ट्रपति लुला
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उहाँलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गर्नुभएको छ ।

“दोस्रो विश्वयुद्धपछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ”, स्थानीय रेडियो स्टेशनसँगको अन्तर्वार्तामा लुलाले भन्नुभयो, “तर (ट्रम्प) ले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने कोशिश गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश गरिरहनुभएको छ ।”
लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि र उहाँको देशमाथि रुसको आक्रमणको दोष उहाँमाथि थोपरेपछि आएको हो ।
वासिङ्टनले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर किएभलाई चिढ्याएको छ । लुलाले विशेष उदाहरणहरू दिनुभएन तर ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गर्नुभयो ।
जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगर्नुभएका लुलाले संयुक्त राज्य अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको दोहोर्याउनुभयो र ‘मित्रता’ को ठूलो सङ्केतका लागि आग्रह गर्नुभयो ।
“हामी यो संरक्षणवाद रोक्न चाहन्छौँ”, उहाँले स्टिलजस्ता ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले घोषणा गरेको करलाई उल्लेख गर्दै भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्