भारतीयलाई ऋण दिने चिनीयाँहरुको कल सेन्टरमा छापा, ८० जना पक्राउ
नेपालमा चिनीयाँ नागरिकहरुको अवैध धन्दाको जालो नै फैलिएको पाइएको छ । कतै अनलाइन जुवा त कतै अवैध ऋणको कारोबारमा नेपालीहरुलाई संलग्न गराएर धन्दा चलिरहेको पाइएको छ ।
सोमबार राति काठमाडौंको वानेश्वरबाट अवैध रुपमा अनलाइन जुवा खेलाउने एक चिनीयाँ नागरिकसहित ३७ जना पक्राउ परे । आज मंगलबार भक्तपुरबाट अवैध कल सेन्टर संचालन गर्ने चिनीयाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले दिएको जानकारी अनुसार प्रहरीले एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको हो ।
मंगलबार सानोठिमीस्थित तीन तले घरबाट कल सेन्टर सञ्चालक २९ वर्षीय वाङ्गजिना ओ सहित ८० जनालाई पक्राउ गरेको हो । उनी सनसिटी अपार्टमेन्टमा कोठा लिएर बसेका थिए । कल सेन्टर सञ्चालन गर्न भने उनले अर्को तीन तलाको घर भाडामा लिएर राखेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार उनीहरूले विशेष गरी भारतीय युवायुवतीहरूलाई छोटो समयका लागि सुरुमै ब्याज कटाएर ५ हजारदेखि १० हजारसम्मको दिने र सोही ऋण तिर्न कल सेन्टर स्थापना गरेका थिए ।
ऋण उठाउनको लागि ती चिनियाँ नागरिकले नेपालका युवायुवतीहरूलाई काममा लगाएका थिए । ती युवायुवतीहरूले ऋण लिएका व्यक्तिहरूलाई ऋण तिर्ने समयबारे जानकारी गराउने गर्थे भने समयमा ऋण नतिरे उनीहरूले विभिन्न माध्यमबाट धम्क्याउने, गाली गर्ने लगायत गर्थे ।
प्रहरीले सानो ठिमीमा यस्तो कारोबार गरिरहेको भन्ने सूचना केही दिन अघि नै पाएको थियो । केही दिनदेखिको अनुसन्धानपछि मंगलबार प्रहरीले छापा मारेको हो ।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार ती चिनियाँ नागरिकले युवायुवतीहरूलाई १५ हजारसम्मको तलब दिने गरेको खुलेको छ । प्रहरीले १४ वटा डेस्कटप कम्प्युटर, ४८ वटा ल्यापटप र दुई वटा आइप्याड बरामद गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्