जन सरोकार

करोडौंको लगानी खेर, अझै प्रयोगमा आएन बागलुङ बसपार्क

बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ ।

ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन ।

अघिल्लो वर्ष असारमा बसपार्क निर्माण भएको थियो । बसपार्कसँगै यहाँ सुविधासम्पन्न टर्मिनल भवन बनेको छ । बसपार्क सञ्चालनमा नआउँदा यहाँ बनेका संरचना जीर्ण बन्दैछ । तर बसपार्क सञ्चालनमा ल्याउने स्पष्ट खाका बागलुङ नगरपालिकाले अझै बनाउन सकेको छैन ।

बजार क्षेत्रमा बढ्दो सवारी चापले गर्दा दुर्घटना जोखिम उत्तिकै बढेको छ । बसपार्क छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग गर्दै आए पनि सम्बन्धित निकायले सुनेको छैन । बसपार्क सञ्चालनमा आए बागलुङ बजारको सौन्दर्यता बढ्ने देखिन्छ । जग्गादाता र बागलुङ नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नहुँदा अहिलेसम्म बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । बसपार्क सञ्चालनमा आउनुअघि सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीय गोविन्दबहादुर जिसीको भनाइ छ ।

स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । नगरपालिकासँगको सम्झौतामा उनीहरूले बसपार्क निर्माण गर्न जग्गा दिएवापत त्यस क्षेत्रमा बाँकी रहेको ३५ रोपनी जग्गालाई घडेरी बनाइदिनुपर्ने, बाटोको निकास दिनुपर्नेलगायतका १२ बुँदे सम्झौता भएको थियो ।

जिसी भन्नुहुन्छ, “यो बसपार्क निर्माणका लागि हामी विसं २०५९ देखि नै लागेका हौँ, जग्गा व्यवस्थापन गर्न धेरै समय लाग्यो, धेरै समयपछि बसपार्क पनि निर्माण भयो, अब सञ्चालनमा आउँछ भन्ने अपेक्षा थियो, तर अहिलेसम्म संरचना बने पनि बस चल्न सकेका छैनन्, नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा अहिले यो परिस्थिति सिर्जना भएको छ ।”

जिसीले बसपार्क सञ्चालन गर्न स्थानीयले कुनै पनि अवरोध नगरेको बताउनुभयो । नगरपालिकाले काम गर्न नसक्दा यो समस्या भएको उहाँको भनाइ छ । बसपार्क बनेर बाँकी रहेको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने उहाँ बताउनुहुन्छ । संरचना बने पनि यत्तिकै रहिरहनु दुःखद् भएको जिसीको भनाइ छ ।

स्थानीय सन्तोष जिसीले सम्झौता कार्यान्वयन गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले नगरपालिकाले जग्गा फिर्ता नगरिदिँदा आफूहरूले जग्गामा अन्नबाली उब्जाउ गर्न नपाएको, जग्गा धितो राखेर अन्य व्यवसाय गर्न नपाएको, छोराछोरी तथा आफन्तलाई पढाउन नसकेकोलगायतका समस्या भोग्नुपरेको गुनासो पोख्नुभयो ।

“बसपार्क बनेपछि यस क्षेत्रका जनतालाई सुविधा होला, बजार व्यवस्थित होला भन्ने लागेर जग्गा दिएका थियौँ, पालिकाले सम्झौता कार्यान्वयन नगर्दा हामी स्थानीयवासी ठूलो समस्यामा परेका छौँ”, उहाँले भन्नुभयो, “बसपार्क पुग्ने सडक साढे चार मिटर भनिएको थियो छ मिटर बनाएको छ, सबैतिरबाट स्थानीय नै मारमा पर्ने स्थिति आउँदा पनि बसपार्क सञ्चालन गर्न दिएका थियौँ ।”

बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि छलफल भइरहेको बताउनुभयो । बसपार्क निर्माणका सन्दर्भमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा परेकाले नगरपालिकालाई काम गर्न केही असहज भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा नगरले बर्सेनि ब्याजका रूपमा करोडौँ गुमाएकाले छिट्टै सञ्चालनमा ल्याउने उहाँ बताउनुहुन्छ ।

बसपार्क नगर विकास कोषको रु आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेजसमेत निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.