अमेरिकी डलर देखाई लुटपाट गर्ने तामाङ पक्राउ
अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गातीघर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो ।
तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ ।
यसै गरी दुबइ पठाइदिन्छु भन्दै नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुम सानीभेरी गाउँपालिका २ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलवीर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रुकुम (पश्चिम) चौरजहारी नगरपालिका ८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न प्रहरीले काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्