झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत बिहीबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।
पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २-० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक-एक गोल गरे । सुरुआतमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो ।
जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भएका छन् । उनले नगद रू २० हजार पुरस्कार पाए ।
भोलि (शुक्रबार)को खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ ढाका बङ्गलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोल्डकपको विजेता टोलीले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख पाउने छ ।
प्रतिक्रिया राख्नुहोस्