बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ ।

शनिबार मकवानपुरको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३७औँ मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियमले पहिलो गोल गरेका हुन् । त्यस्तै, ४२औँ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका शिशिर लेखीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
मच्छिन्द्रका समीरराज थोकरले दोस्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै अग्रता कायम राखेसँगै खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल थप्दै ३–१ अन्तरमा थ्री स्टार पराजित गरेका हुन् ।
शनिबारको खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् । उनलाई गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले नगद रु १० हजार प्रदान गर्नुभएको थियो ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज युनाइटेड विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेल यही फागुन १२ गते दिउँसो २ बजे चर्च ब्वाइज र मच्छिन्द्र क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्