केआइआइटीमा अध्ययनरत नेपालीको सुरक्षामा सरकार किन मौन ?
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले सुरक्षाको माग गर्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।

बैठकमा सांसद पदम गिरीले गत आइतबार प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भनेर जानकारी गर्दा पनि वेवास्ता गरिएकोप्रति भत्सर्ना गर्नुभयो ।
उहाँले त्यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीहरुले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुण्डा र सुरक्षा गार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्याउने काम गरेको उल्लेख गर्दै विरोध जनाउनुभयो ।
सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयको घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको तत्कालको हस्तक्षेपले केही समस्या समाधान भए पनि पूर्णरुपमा समाधान नभएको बताउनुभयो ।
उहाँले एक हजार ५०० विद्यार्थीमध्ये विभिन्न नाकाबाट पाँच सयभन्दा विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बताउँदै नेपाललाई होच्याउने कार्य निन्दनीय भएको उल्लेख गर्नुभयो ।
सांसद पन्तले भन्नुभयो, “सबै विद्यार्थी छात्रवृत्तिमा पढने होइनन् । लाखौ पैसा बुझाएर पढिरहेका छन् । ती विद्यार्थीलाई सुरक्षितरुपमा त्यहाँ गएर पढने वातावरण मिलाउन जरुरी छ । भारतमा पढन जाने प्रत्येक विद्यार्थीको तथ्याङ्क राख्नुपर्ने र सकेसम्म विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न माग गर्दछु ।”
सांसद महेश बस्नेतले मेची राजमार्गमा धेरै दुर्घटना हुने गरेको र सवारी साधनको चाप बढेकाले सडकलाई फराकिलो बनाएर सुरक्षित बनाउन माग गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले जंगली हात्तीको समूहले सर्लाहीको उत्तरी क्षेत्रमा आतङ्क मच्चाइरहेको र व्यवसायीक केराखेती, मकैखेती नष्ट गरेको जानकारी गराउँदै क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद रमा कोइरालाले विदेशमा भिजिट भिसामा जानेलाई कानुनी मान्यता दिन नहुने र गैरकानुनी बाटोबाट लगेर सूचीकृत गर्ने कुराप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले गैरकानुनीरुपमा मेनपावर कम्पनीले रोजगारीमा पठाएर कामदारलाई समस्यामा पार्ने गरेको र त्यसमा महिला कामदारहरु बढी मारमा पर्ने गरेको बताउनुभयो ।
यसै गरी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेको उल्लेख गर्दै कुनै पनि वाहानामा लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार सैह्य नभएको बताउनुभयो ।
उहाँले जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनाएको र त्यही आन्दोलनले नै राजालाई नागरिक बनाएको हुनाले पूर्वराजा र समर्थकहरुलाई उक्त सपना नदेख्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्