सुरुङ इञ्जिनियरिङ पढ्न छात्रावृत्तिको व्यवस्था गर्न माग
सांसद अच्युतप्रसाद मैनालीले सुरुङमार्ग सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि यस विषयमा अध्ययन गर्नका लागि छात्रावृत्तिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद मैनालीले नेपाल रेल तथा सुरुङमार्गको युगमा प्रवेश गरेको भन्दै सो माग गर्नुभएको हो ।
सांसद अनिसा नेपालीले सल्यानटार र जाजरकोटका भूकम्प पीडितमध्ये ४० प्रतिशतले अहिलेसम्म राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अमनलाल मोदीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले त्यसमा विशेष पहल गर्न नसकेको टिप्पणी गर्नुभयो ।
सांसद अशोककुमार चौधरीले सिरहाको लहान नगरपालिकास्थित खुट्टी खोलाको पुराना नहर हटाउनेसम्बन्धी निर्णयले किसानलाई गम्भीर असर परेको उल्लेख गर्दै छ दशकदेखि हजारौँ कृषकले यो नहरबाट सिँचाइको प्रयोग गर्दै आएकामा अहिले ढलमा प्रयोग गर्नु गैरकानुनी भएको बताउनुभयो ।
सांसद अञ्जनी श्रेष्ठले जेहेन्दार छात्रवृत्तिमा पढेका चिकित्सकले सरकारले गरेको सहमति पालना गरी विदेश जान चाहेमा राजिनामा स्वीकृत नहुँदा समस्या परेका बताउनुभयो । उहाँले अर्को व्यवस्था गर्न नसक्दा विद्यार्थी समस्यामा परेका भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आश्माकुमारी चौधरीले घोराही–तुलसीपुर सडकखण्डमा चार लेनको बाटो नबन्दा जनताले धुलो र असुरक्षित यात्राका कारण सास्ती भोग्नु परेकाले निर्माणलाई तीव्रगतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद उर्मिला माझीले माझी समुदायको ‘लदी’ पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिन माग गर्नुभयो । सांसद ईश्वरबहादुर रिजालले राज्यशक्तिको स्रोत जनता भएको बताउँदै हुकुमी तन्त्रलाई जनताले नस्वीकार्ने बताउनुभयो ।
सांसद उदयशम्शेर जबराले सरकारको सडक विस्तार कार्यक्रम अन्योलमा परेकाले स्पष्ट नीति बनाएर उपत्यकाका यात्रुलाई सहज यात्रा गर्ने व्यवस्था गराउन सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।
सांसद एकनाथ ढकालले दरबारमार्गको सडक पेटीमा ग्रेनाइट बिछ्याएर दृष्टिविहीनमैत्री नबनाएको भन्ने गुनासो आएको हुनाले महानगरको सडकपेटी निर्माण गर्दा मौलिक परम्परालाई ध्यान दिँदै अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद कान्तिका सेजुवालले रोयल्टी बाँडफाँटको नयाँ प्रतिवेदन आएको र रोयल्टी बाँडफाँटमा निर्धारण प्रतिशत र विषयहरु अव्यावहारिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कालुराम राईले मिर्गौला प्रत्यारोपण नियमन तथा निषेध ऐन, २०५५ कानुन संशोधन गरेर सर्वसाधारणले उपचार गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो ।
सांसद किरणकुमार साहले विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाबारे सरकारले चासो लिनुपर्ने र भारतमा भएको एउटा घटना मात्रै होइन अमेरिका, अष्टे«लिया, युरोपमा पनि विद्यार्थीले दुःख पाएको र आत्महत्या गरेको धेरै घटनाहरू भइरहेकाले विद्यार्थीको गुनासो सुन्ने निकाय बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद कुसुमदेवी थापाले महालेखा परीक्षकले जहिले पनि वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने गरेको भए पनि त्यसले देखाएको कमजोरीलाई सुधार गर्ने सम्बन्धमा पहल भएको नदेखिएकाले त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्