चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीचको आइतबार भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।
पहिलो हाफमा खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमारका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेलको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । उनले खेललाई १–१ गोलको अवस्थामा पुर्याइन् ।
यसैगरी खेलको १७औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमारका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् ।
दोस्रो हाफमा भने नेपाल र म्यानमारका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुने छ ।
प्रतिक्रिया राख्नुहोस्