राजनीति

सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्ड

पार्टीले सोमबार झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो ।

“सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उहाँले भन्नुभयो, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।” विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उहाँले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताउनुभयो ।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उहाँले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयोे, “जुनबेला हामीले उनीहरुसँग सहकार्य ग-यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.