वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताउनुभएको छ ।

सोमबार सर्लाहीको हरिपुरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम सङ्घ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब कांग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताउनुभयो ।
मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल मुस्लिम सङ्घले समयमै अधिवेशन गरेर कांग्रेस सम्वद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उहाँले प्रशंसा गर्नुभयो ।
संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाल मुस्लिम सङ्घको मधेस प्रदेशस्तरीय प्रथम अधिवेशनको उद्घाटन समारोहलाई कांग्रेसका केन्द्रीय सदस्यहरू अब्दुल सतार, जाबेदा खातुन, नैनसिंह महर, नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति महम्मद अताउल, लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्