दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

यहाँ आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख पुष्करराज जोशीले वडा नं ९ का वडाध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का वडाध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । उहाँले नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।
यसअघि देहीमाण्डौँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसँगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरीलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास लिइएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताउनुभयो ।
दशरथचन्द नगरपालिकाले तीन वर्षदेखि गर्भवती तथा सुत्केरीलाई अन्यत्र अस्पताल लैजानुपरेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको बताउँदै उहाँले त्यसको निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरप्रमुख जोशीले नगरवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले योजनाबद्ध काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्