जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

कैलाली, चितवन, बागलुङ, रूपन्देही, सल्यान र ललितपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कैलाली, लम्कीचुहा नगरपालिका-१ स्थित सडकमा सु.प.प्र.०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने उर्मिला बिष्टको छोरा ५ वर्षीय जेनिस बिष्टको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सडकमा काठमाडौंबाट बेसिशहरतर्फ जाँदै गरेको ग.१ ख ४४४४ नम्बरको माइक्रोबसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीया सुकमाया गुरूङको सोमबार साँझ मृत्ययु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बागलुङ, बडिगाड गाउँपालिका-९ दर्लिङस्थित सडकमा भीमगिठ्ठेदेखि खहरेतर्फ जाँदै गरेको लु.३ च ५५६९ नम्बरको पिकअप जिप सडकबाट करिब ६० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार निसिखोला गाउँपालिका-७ चोलाङ बस्ने ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरे बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रूपन्देही, ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा धकधईबाट भैरहवातर्फ आउँदै गरेको लु.४९ प ६४१६ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ जावा बस्ने ३२ वर्षीय सुशान्त कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका-१ फारूलेचौरस्थित सडकमा रोल्पा झ्यामबाट दमाचौरतर्फ आउँदै गरेको रा.१ क ५३० नम्बरको मिनिट्रक सोमबार राति दुर्घटना हुँदा चालक रोल्पा गंगादेब गाउँपालिका-३ बस्ने ३५ वर्षीय हरी चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यत ललितपुर, ललितपुर महानगरपालिका-४ बिष्णुदेवी मन्दिर नजिकै सडकमा रा.१ ख ९५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-२१ ठुलो खोकना बस्ने ४९ वर्षीय भीम रत्न महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.