एमालेले सरकारलाई दिएको समर्थन फिर्ता
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते सरकार गठनअघि भएको सहमति कार्यान्वयन गरेपछि नेकपा एमाले चण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने निर्णय गरेको एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किएर आठदलीय नयाँ गठबन्धन बनिसकेको छ ।
राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।
एमालेले सरकार छाड्नुको मुख्य कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्री डा. विमला पौडेल राईको जेनेभा भ्रमण रोकेर एमालेबाट मन्त्रिपरिषद्मा सामेलहरुलाई कर्तव्यविहीन बनाउन खोजेको एमालेको आरोप छ ।
सचिवालय बैठकपछि उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नु भएको छ । हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।’
प्रतिक्रिया राख्नुहोस्