संयुक्त अरब इमिरेट्समा जारी यू १९ विश्वकप एसिया छनोटमा नेपालको विजयी यात्रा कायमै रहेको छ । यसअघि सिंगापुर र कुवेतलाई भारी अन्तरले पराजित गरेको नेपालले सोमबार सम्पन्न तेस्रो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको छ ।
यू १९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपालले सोमबार युएईको मालेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले जितमा ह्याट्रिक गर्दै हङकङलाई ९ विकेटले पराजित गरेको हो ।
हङकङ दिएको १ सय २१ रनको झिनो लक्ष्य नेपालले १ विकेटको क्षतिमा २२.१ ओभरमा पूरा गर्यो । नेपालको सहज जितमा जितमा आकाश त्रिपाठीले नटआउट ५८ रन र उत्तम थापा मगरले नटआउट ३९ रन जोडे । अर्जुन कुमाल १६ रनमा आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अलआउट भयो । हङकङका लागि पार्थ भागवतले ३६ रन र मोहमद जाहिरले २९ रन बनाए ।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ९ ओभरमा १९ रन खर्चिए।आकाश चन्द र सुवास भण्डारीले २(२ विकेट लिए। दिपेश कँडेलले १ विकेट हात पारे।
नेपालले अब चौथो खेलमा फागुन १६ गते मलेसियासँग खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ । २ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।
प्रतिक्रिया राख्नुहोस्