दक्षिण कोरियामा कामको बोझ र तनावका कारण एक नेपालीद्वारा आत्महत्या
नेपाली युवाहरूका लागि आकर्षक श्रम गन्तव्य बनिरहेको दक्षिण कोरिया स्थित एउटा बङ्गुर फार्ममा कार्यरत म्याग्दीका २८ वर्षीय तुलसी पुन मगरको आत्महत्यापछि त्यहाँ कार्यरतत नेपालीहरुको सुरक्षा चासो बढेको छ ।

दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित वूसङ्ग पिग फार्ममा कार्यरत मगरलाई कोरियाली प्रहरीले गत शनिवार मृत अवस्थामा फेला पारेको थियो ।
मगरले आत्महत्या गर्नुको कारण अत्यधिक शारीरिक तथा मानसिक तनाव रहेको बताएका छन् । त्यहाँ कार्यरत अन्य नेपाली कामदारहरूले त्यस कम्पनीमा काम गर्दा अनेक तनाव झेल्नुपरेको र आफूहरूले सो कम्पनीको काममा निरन्तरता नसकिने बताएका छन् ।
त्यहाँ कार्यरत बाँकी नेपाली कामदारले काम गर्न नचाहेको बताएपछि सोलस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई अन्यत्र जान दिन रोजगारदाता कम्पनी सहमत भएको अधिकारीहरूले बताएका छन् ।
सो घटनापछि दूतावासले वस्तुस्थिति बुझ्न श्रम काउन्सिलर मैया कँडेलसहितको एउटा टोलीलाई उक्त कम्पनी पठाएको थियो जुन टोलीले त्यहाँ कार्यरत बाँकी नेपाली, कम्पनीका म्यानेजर र मालिक लगायतसँग जानकारी लिएको थियो ।
नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे एकैचोटि सबै कामदारले छोड्दा बङ्गुर फार्म नै समस्यामा पर्ने भन्दै त्यसका साहु चरणबद्ध रूपमा नेपालीहरूलाई कम्पनी छोड्न दिन सहमत भएको बताउनुभयो ।
सहमति बमोजिम दुई साताभित्र नेपाली कामदारहरूले उक्त कम्पनी छोडिसक्ने भन्दै दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । दूतावासले जनाएको छ।
राजदूत तुम्बाहाम्फेले त्यहाँ कार्यरत युवकको मृत्युको घटनापछि तीनजना रिलीज लेटर लिएर निस्किसकेको बताउँदै अब तीनजना महिलासहित १५ जनायुवक पालोपालो त्यहाँबाट निस्कने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्