नवयुवाहरुलाई सभ्यता, संस्कृति र सम्पदा चिनाउने मेसो
आजभोलि शिक्षाको अर्थ किताब पढ्ने, विदेश जान योग्य हुनेमा सीमित छ । मुलुकको भाषा, संस्कृति, सभ्यता, सामाजिक बनोटका बारेमा कमै मात्र चासो दिने र दिलाउने गरिन्छ ।

शिक्षामा कायम रहेको बाहिरीपनका कारण आजकको पुस्ताले आफ्नोपनका बारेममा जानकारी नै नपाउने अवस्था बढ्दै गएको छ । यस्तोमा गत बुधबार महाशिवरात्रिका दिन स्वयम्भूमा ३३ विद्यालयका ६० विद्यार्थीहरु चित्र कोर्न भेला भए ।
उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो ।
विद्यार्थीहरुले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे । चित्रमा उनीहरुले आफ्ना भावनासमेत पोखे । स्कुले विद्यार्थीहरुले आँखाले देखिरहेको दृश्य दुरुस्त चित्रमा कोरेको देखेर आगन्तुहरुलेसमेत चाख दिएर हेरे ।
बोधिसत्व स्कुल स्वयम्भूका विद्यार्थी सूर्यमान तामाङले स्वयम्भूको चित्र कोर्नुभयो । कला सिर्जनामा रुचि राख्ने तामाङले स्वयम्भूमा आएर कला सिर्जना गर्न पाउँदा खुसी महसुस भएको बताउनुभयो ।
कामना इन्टरनेशनल स्कुलकी आरोही प्रसाईं पनि चित्र बनाउने प्रतियोगितामा भाग लिन पाउँदा खुसी हुनुभयो । उहाँले स्वयम्भूसहित धरहरालाई एउटै क्यान्भासमा उतार्नुभयो ।
आफ्नो चित्रकलामा धरहरा जोडेर उपत्यकाको मौलिकता देखाउन खोजेको उहाँले बताउनुभयो । उपत्यकाका सम्पदा जोगाउन कलाको भूमिका महत्त्वपूर्ण हुने उहाँको बुझाइ छ ।
स्वयम्भू महोत्सवमा आयोजित उक्त चित्रकला प्रतियोगितालाई स्वर्णिम स्कुलका भगवान श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नं १५ ले सहयोग गरेको हो । चित्रकला प्रतियोगितामा कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ गरी दुई समूहमा राखेर कला सिर्जना गराइएको थियो ।
प्रतियोगिताको संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले स्वयम्भू क्षेत्रभित्रका सभ्यता, संस्कृति र चाडपर्वलाई समावेश गर्ने गरी विषय दिएको र त्यही विषयमा विद्यार्थीले चित्र कोरेका बताउनुभयो ।
स्वयम्भू महोत्सव मूल आयोजक समितिका संयोजक तथा महानगरको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले कला संस्कृतिको जगेर्नाका लागि विद्यालयस्तरीय प्रतियोगितात्मक कला सिर्जना कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतियोगितामा कक्षा ६ देखि ८ का विद्यार्थीको समूहतर्फ मोर्डन नेपाल स्कुलकी ग्रिन्ता पण्डित प्रथम, यूरो स्कुलकी अश्रेया शाक्य द्वितीय र डल्लु आवासीय स्कुलका स्वनिग श्रेष्ठ तृतीय हुनुभयो । मैत्री स्कुल र शाङ्करी स्कुलका सियविन महर्जन र सौभित महर्जनले सान्त्वना स्थान प्राप्त गरे ।
त्यसै गरी कक्षा ३ देखि ५का विद्यार्थीतर्फ डल्लु आवासीय विद्यालयकी सरिना महर्जन प्रथम, ईश्वर आधारभूत विद्यालयकी अनिशा परियार द्वितीय र दिव्यज्ञान माविका जष्टिन कार्की तृतीय भए । त्यसैगरी फ्यूचर स्टार स्कुल र विजेश्वर ज्ञान मन्दिर सैनिक विद्यालयका जोवा तामाङ र युनिका भुजेलले सान्त्वना स्थान प्राप्त गरे ।
यसअघि महोत्सवकै अवसरमा यहाँ २० भन्दा बढी कलाकार सहभागी भएर कला कार्यशाला आयोजना गरिएको थियो । ती कार्यशालामा बनाइएका सम्पदाका कलाहरु महोत्सवमा प्रदर्शन जारी छ । यही फागुन १७ गतेसम्म महोत्सव चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्