जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ, बारा, रूपन्देही, पाँचथर र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकललाई बा.०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो । तीन वटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बारा, महागढीमाई नगरपालिका-२ इनर्वास्थित सडकमा वीआर ०१ एफके ९६४० नम्बरको मोटरसाइकल र ना.७ ख २९६६ नम्बरको टिपर एकआपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट बृन्दाबन नगरपालिका-१ बिश्रामपुर टोल बस्ने २० वर्षीय सैनिक पटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको वयोधा अस्पताल पर्सामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा लु.४० प ६३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय चौथी बेल्दारको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता पाँचथर, हिलिहाङ गाउँपालिका-४ ओखरबोटेस्थित सडकमा मे.१ ज ३०७३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य एक जनालाई थप उपचारको लागि विएण्डसी अस्पताल झापा रिफर गरिएको छ । यता दाङ, तुल्सीपुर उपमहानगरपालिका-८ चमिखोलास्थित सडकमा रा.४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.