खेलविविध

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरा महानगरलाई

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर सोमबार सम्पन्न १३औँ संस्करणको सो प्रतियोगितामा पोखराले २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको हो । रुपा गाउँपालिकाले दुई स्वर्ण र चार कास्यसहित छ पदक प्राप्त गरी द्वितीय बन्यो ।

राष्ट्रपति रनिङ शिल्ड

यसैगरी, नौ रजत र नौ कास्यसहित १८ पदक जितेर माछापुच्छ्रे गाउँपालिका तृतीय र बन्यो भने सात रजत र आठ कास्य गरी १५ पदक जितेर अन्नपूर्णले चौथो स्थान हासिल गरेको छ । मादी गाउँपालिका भने प्रतियोगितामा एउटा पनि पदक जित्न सकेन । पोखरा महानगरपालिकाका लागि सविना खातुनले पाँच स्वर्ण र एन्जल अधिकारीले चार स्वर्ण दिलाउनुभयो ।

पोखरा रामघाटमा रहेको टप्स माविमा कक्षा ९ मा अध्ययनरत खातुनले चार सय मिटर, आठ सय मिटर, हाइजम्प, रिलेतर्फ दुई स्वर्ण गरी पाँच स्वर्ण जित्नुभएको हो ।

पोखरा–२७ को त्रिवेणी पब्लिक स्कुलका एन्जल अधिकारीले एक सय मिटर, दुई सय मिटर, लङजम्प र रिलेमा गरी चारवटा विधामा स्वर्ण पदक जित्नुभयो । विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, नेपाल भारत्तोलन सङ्घका केन्द्रीय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसैगरी, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट छात्र र छात्रा गरी ९४ खेलाडी छनोट भएका छन् ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरेको हो । प्रदेशस्तरीय प्रतियोगितामा छनोट भएका ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, भलिबल र कबड्डीमा १८/१८, उसु, कराते र तेक्वान्दोमा समान १२/१२ जना रहेका छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.