नेताको आलोचना गर्दैमा जेल जाने अवस्था आउनुहुँदैन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउन नहुने बताउनुभएको छ ।

सरकारले सामाजिक सद्भाव कायम राखी राष्ट्रिय एकता बचाउन भन्दै संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयकको चर्को बिरोध भैरहेका बेला शर्माको सो धारणा आएको हो ।
महामन्त्री शर्माले सरकारले सदनमा पेश गरेको सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै नहुने र सरकार यसलाई संशोधन गर्न तयार हुनुपर्ने बताउनुभएको छ ।
हालै आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने बताउँदै सो धारणा राख्नुभएको हो ।
उहाँले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्