खेल

११ वर्षपछि नेपाललाई हरायो मलेसियाले- सन्दीपको एक सय विकेट पूरा

नेपाल थाइल्याण्डमा जारी एसीसी टी २० इस्टर्न रिजन २०२० को पहिलो खेलमा मलेसियासंग पराजित भएको छ । सन् २००९ यताका सबै खेल जित्दैआएको नेपाल शनिबार मलेसियासंग २२ रनले पराजित हुन पुग्यो भने सोही खेलमार्फत सन्दीप लामिछानेको एक सय विकेट पूरा भएको छ ।

च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको हो । सन् २००९ को एसीसी टी २० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले बाजी मार्‍यो ।

बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गर्न सक्यो, न राम्रो फिनिसिङ । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । नेपालको सुरुवात नै खराब रहृयो । पहिलो पटक सिनियर टिममा ओपनिङ गरेका कुशल मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर १ रन थियो ।

पूर्वकप्तान पारस खड्का ९ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्दै तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । कप्तान मल्ल ३८ रनमा आउट भए । चौथो विकेटका रुपमा ऐरी ३८ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ११० रन थियो ।

१७औं ओभरमा पवन सर्राफ १९ रन बनाए आउट भए भने १८औं ओभरमा आरिफ शेख आउट भए । आरिफले ५ रन जोडे । १९औं ओभरमा पनि नेपालले विकेट गुमायो । करण केसीले मात्र २ रन बनाए पेभलियन फर्किए । अन्तिम ओभरमा मात्र नेपालले तीन विकेट गुमाएको थियो । विनोद भण्डारी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछाने १ रन बनाएर आउट भए । यस्तै सुशन भारी डकआउट भए ।

मलेसियाका लागि शर्भिन मुनिएन्डीले अन्तिम ओभरमा ३ विकेट लिए । मुनिएन्डीले कूल ४ विकेट लिए । पवनदिप सिंह, सयजरुद एजत इसु, खिजर हायत दुरानीले २९२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले सायद अजिज सायद मुबारकको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

सन्दीपको १०० विकेट पुरा

मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी २० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने । खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई आउट गरेका थिए । त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । त्यो ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् ।

नवौं ओभरमा सन्दीपले अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । मलेसियाविरुद्ध ३ विकेट लिएपछि राष्ट्रिय टिमका लागि सन्दीपको विकेट संख्या ३१ पुगेको छ । ७१ विकेट उनले विश्वका विभिन्न टी २० लिगमा लिएका थिए ।

अभिनाशले १४औं ओभमा अहमद फैज मोहमद नुर र मोहमम्द अरिफ जमालदिनलाई आउट गरेका थिए । अभिनाले ४ ओभरमा ३९ रन रखर्चेर २ विकेट लिए । यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

सिंगापुरको विजयी शुरुवात

शनिवारै भएको उद्घाटन खेलमा सिंगापुरले विजयी शुरुवात गरेको छ । सिंगापुरले घरेलु टोली थाइल्याण्डलाई ४३ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले निधारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

१४० रनको लक्ष्य पछ्याएको घरेलु टोली थाइल्याण्ढ एक ओभर बाँकी छँदै ९६ रनमा अलआउट भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.