राजनीति

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

अर्थमन्त्रीको आग्रह

उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० को उद्घाटन गर्दै मन्त्री डा महतले राजस्व सङ्कलन, बाह्य पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो ।

“मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ”, मन्त्री डा महतले भन्नुभयो । यसअघिको सरकारले बजेटको सुनिश्चितता बिना आयोजनाको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको उहाँको भनाइ थियो ।

पश्चिम नवलपरासीको महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उल्लेख गर्दै मन्त्री डा महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन र सडक पूर्वाधार विकासका लागि आगामी आवको बजेटमा समावेश गरिने आश्वासन दिनुभयो ।

मेलामा बाल उद्यानलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय ५० कक्ष रहेका छन् । मेला यही फागुन ३० गतेसम्म चल्ने छ ।

पश्चिम नवलपरासी आउनुभएका मन्त्री डा महतले आजै पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर भन्सारको समेत निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँले भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने बताउनुभयो ।

महेशपुर नाकालाई प्रमुख नाकाको रुपमा विकास गर्न कदम चाल्ने मन्त्री डा महतले उल्लेख गर्नुभयो । मूल भन्सारको रुपमा प्रवाह गर्न जग्गाको अभाव रहेको उल्लेख गर्दै उहाँले यसबारे प्रस्ताव पेस गरी प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । मन्त्री डा महतले जिल्लास्थित सुरक्षा निकायलाई गैरकानुनी आयात तथा निर्यातमा रोक लगाउन सुझाव दिनुभएको छ । यसबाट सरकारलाई राजस्व उठाउन सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.