महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ (भिडियोसहित)
महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई पीताम्बरी, रूद्राक्ष, घण्ट, कमण्डलुसहित दक्षिणा दिएर बिदाइ गरेका हुन् ।

संस्थानले साधुसन्तलाई नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिएको काठमाडौँ शाखा प्रमुख बैकुण्ठप्रसाद रेग्मीले राससलाई जानकारी दिनुभयो । फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएको सामग्रीसहित संस्थानले साधुसन्तलाई दक्षिणा बाँडेको हो ।
संस्थानले सभापति, अखडाका संरक्षकलाई रू नौ हजार, श्रीमहन्त सेक्रेटरी श्रीमहन्त थानापति, रम्तापञ्चका श्रीमहन्तलाई रू पाँच हजार १०० दक्षिणा दिएको छ । दक्षिणा लिन साधु सन्त पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाम बसेका थिए ।
थानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्ट कौशल महन्तलाई रू तीन हजार छ सय, जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोबारीलाई रू दुई हजार चार सय, नागाबाबा, महन्त, अवधुतानीलाई रू एक हजार सात सय ५०, अवधुत (आधा सन्यास) लाई रू एक हजार छ सय दक्षिणासहित बिदाइ गरिएको छ ।
महापुरूषलाई रू एक हजार सय, ब्रह्मचारी, भेषधारीलाई रू पाँच सय ५१ र मगन्ते नारायणलाई रू दुई सय गरी नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिइएको उहाँले सुनाउनुभयो । नौ वर्गका गरी संस्थानले दुई हजार तीन सय ६१ जना साधुसन्तलाई दक्षिणा दिएको छ ।
संस्थानले अहिलेसम्म रू २० लाख ३० हजार ६७ दक्षिणा स्वरूप बाँडिसकेको जनाएको छ । पत्र दिएका केहीलाई अझै दक्षिणा दिन बाँकी रहेको काठमाडौँ शाखा प्रमुख रेग्मीले सुनाउनुभयो । पत्र बाँडेका सबैलाई दक्षिणा दिँदा करिब रू २१ लाख लाग्ने संस्थानले जनाएको छ । शनिबार छुटपुटलाई पनि दक्षिणा दिएर सकिने भएको छ ।
कोषले भने अधिकतम् रू सात हजार पाँच सय र न्यूनतम् रू एक सय एक दक्षिणा साधु सन्तलाई दिएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोषले बाँडको दक्षिणाको विस्तृत विवरण शनिबार आउने उहाँले सुनाउनुभयो ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्