बौद्ध सर्किट प्रवद्र्धन गर्न ‘बुद्ध ज्ञान साइकल यात्रा’
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ ।

साइकल सिटीको आयोजनामा सुरू भएको यात्रा दोस्रो संस्करणको यात्रा एक सय १५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट शुक्रबार सुरू भएको हो ।
शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने र दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ ।
साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिनुभयो ।
यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिष्ट दम्पतीसमेत सहभागी भएको उहाँले बताउनुभयो । सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती हुनुहुन्छ । यसबाहेक यात्रामा आठ वर्षीय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी हुनुहुन्छ ।
बहत्तर वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताउँदै नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष आउँदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवानले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनका लागि साइकल यहाँ उचित साधन हुनसक्छ । नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य हो किनकि यहाँ प्रकृतिको विविधता छ ।”
गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उहाँको भनाइ छ । यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ ।
यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडनु भएको पाइला पछ्याउँदै साइकलयात्री पनि हिँडने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसले देश तथा विदेशमा साइकलयात्रामार्फत पनि बुद्धको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश संसारभरि फैलाउन सहयोग गर्नेछ ।”
भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्