क्रिकेटखेल

नेपाली यु-१९ ले दियो यूएईलाई १९२ रनको लक्ष्य

आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १९२ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर खडा गरेको हो ।

नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए ।

छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए । हेमन्त धामीले १३ रन जोडे । सुबास भण्डारी २ रनमा आउट भए । दिपेश कँडेल १५ रन बनाए ।

यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २/२ विकेट लिए । हर्सिथ सेठ र अमर बदामीले समान १ विकेट लिए ।

नेपाल र यूएईले यसअघिका सबै चार खेल जितेको थियो । यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा नेपालले अब १९१ रनअघि नै युएईलाई अलआउट गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.