राजनीति

शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने : उपसभामुख रानामगर

उपसभामुख इन्दिरा रानामगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राख्नुभएको छ ।

उपसभामुख रानामगर

शनिबार काठमाडौँमा आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

“मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो”, उपसभामुख रानाले भन्नुभयो । अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्ने/गराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका उल्लेख गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिमका साथै प्रोत्साहन गर्ने किसिमका योजनाहरू कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

अभिभावलाई लक्षित गर्दै उपसभामुख रानाले हरेकको पहिलो विद्यालय परिवार रहेकाले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना बालबालिकालाई भरपुर समय दिन आग्रह गर्नुभयो ।

अभिभावले आफ्ना बालबालिकालाई छात्राबासमा राख्न नहुने सुझाव दिँदै उहाँले हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा हुने भएकाले उक्त प्रतिभालाई चिनेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “सदाचारी कर्मले बन्ने हो । रैथानी खानपानलाई ध्यान दिन आग्रह गर्दै बाहिरी खानाले बालबालिकाको स्वास्थ्यलाई हानि गर्ने समस्या विश्वभरि छ, यसप्रति अभिभावक र स्वयं विद्यार्थी सचेत हुनु जरुरी छ ।” देश साँच्चै सुन्दर बनाउने हो भने बालबालिकालाई असल शिक्षा दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक दामोदर भुसालले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा लामो समयमा सेवा गरेका शिक्षक रञ्जना वस्ती, मधुमती श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । साथै विभिन्न कार्यक्रममा सहभागी उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.