संस्कृति

रैथाने गाई हराउँदै गएपछि महत्व जगाउन ‘जनकधाम’

हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन । धर्मसंस्कार र आयुर्वेदमा मात्रै होइन, आधुनिक विज्ञानले पनि पञ्चगव्यको महत्व प्रमाणित गरिसकेको छ ।

पश्चिमा देशहरूमा विस्तारै गाईको महत्वबोध हुन थालेसँगै भएको गाईमा आधारित चिजवस्तुको प्रयोगका विषयमा थुप्रै प्रयास तथा अनुसन्धान भएका छन् । कतिपय देशले अनुसन्धानबाट प्रमाणित तथ्यलाई आत्मसात् गर्दै गोमुत्रवाट एण्टिबायोटिक, एण्टिफङ्गल, एण्टिक्यान्सरजस्ता औषधि बनाएर बौद्धिक अधिकार लिइसकेका छन् ।

पञ्चगव्यका अन्य तत्वहरूको उपयोगबाट थुप्रै औषधीय लाभ लिएका छन् । गाईको महिमा र पहिचान भएकै क्षेत्रमा भने यसको महत्वबोध हुनसकेको छैन । गाईपालन केवल ‘डेरी’ र ‘गाई फार्म’ संस्कृतिको अंशमा सीमित छ, त्यो पनि विकासे ‘जर्सीवाला’ । रैथाने ‘देशी गाई’ लोपोन्मुख अवस्थामा छन् ।

अभियन्ता कुशलेन्द्र झा भने यहाँको रैथाने गाई सङ्कटमा पर्दै गएकामा चिन्तित हुँदै यसको संरक्षण र महत्व प्रसारको अभियानमा जुट्नुभएको छ । विगतमा प्राकृतिक जीवन पद्धतिको आधारका रूपमा रहेको गाईपालन संस्कृति हराउँदै जाँदा त्यसको मारमा सिङ्गो जगत् पर्दै गएको आत्मबोध गर्दै उहाँ यस अभियानमा लाग्नुभएको छ ।

“रैथाने गाई नेपालको पहिचान र जीवनशैली नै हो । यससँग प्राकृतिक जीवनचक्र जोडिएको छ भन्ने कुरा बिर्सिँदा अचेल गाईपालन संस्कृति लोप हुँदैछ । जसकारण मानव स्वास्थ्य नै सङ्टोन्मुख छ”, उहाँ भन्नुहुन्छ ।

गाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिस्थितिकीय प्रणालीसँग अभिन्न रूपमा जोडिएको छ । गाई आधारित उत्पादनहरू (गाईप्याथी), आयुर्वेद, पञ्चगव्य र प्राकृतिक चिकित्सासँग पनि जोडिएकाले शरीर, मस्तिष्क र आत्माको स्वास्थ्यमा यसको अतुलनीय योगदान रहेकामा सबैजसोको मत छ । व्यावसायिक उद्देश्य मात्रै राखेर पालन गरिएका ‘विकासे गाई’ले भने यो महत्व बोक्न सक्दैनन् ।

“जेनेटिकल्ली मोडिफाइ गरेर जर्सी, होलिस्टिनजस्ता विकासे गाई त बनाइयो तर त्यसको कुनै पनि उत्पादन हाम्रो देशी गाईको जस्तो हुँदैन । पचास वर्ष पहिले न्युजिल्याण्डका वैज्ञानिकले त्यस्ता गाईको दूधमा मानव स्वास्थ्यका लागि लाभदायक छैन भनेर पत्ता लगाइसकेका छन् । त्यसैले धेरै दूध दिन्छ भनेर रमाउने कि स्वस्थ जीवनका लागि, यो हरेकले सोच्नुपर्ने बेला आइसकेको छ”, झाले उल्लेख गर्नुभयो ।

नेपालमा भने रैथाने गाईपालन प्रचलन निरन्तर हराउँदैछ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा गाई पाल्ने किसानको सङ्ख्यामा ठूलो गिरावट आएको छ । सो तथ्याङ्कानुसार देशमा १७ लाख आठ हजार परिवारले गाई–गोरुपालन गरिरहेका छन् ।

२०६८ सालकोे तुलनामा पाँच लाख ७३ हजार परिवारले कम हो । त्यसताका २२ लाख ८१ हजार परिवार यसमा सङ्लग्न थिए । विवरणअनुसार विगत १० वर्षमा १८ लाख सात सय ७१ हजार गाईगोरु घटेका छन् । पछिल्लो गणनामा नेपालभर गाईगोरुको सङ्ख्या ४५ लाख ५९ हजार रहेको छ जबकि २०६८ सालमा यो सङ्ख्या ६४ लाख ३० हजार रहेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ ले देशभर छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्य देखाएको थियो । त्यसमध्ये गाई फार्म एक हजार दुई सय ३३ थिए । उन्नत जातका गाईको सङ्ख्या ७५ प्रतिशतभन्दा बढी छ । यसले पनि नेपालमा करिब २५ प्रतिशतको हाराहारीमा मात्रै रैथाने देशी गाई रहेका देखाउँछ ।

“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी वा जर्सी, होलिस्टिन गाई पाल्दा सजिलो मान्न थालिएको छ, जबकि यिनको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक छैन भन्ने गरिएको छ”, अभियन्ता झाले भन्नुभयो, “तर देशी गाईको एक लिटर दूधमात्रै अमृत समान हुन्छ, त्यसको नियमित सेवनले क्यान्सर प्रतिरोधी क्षमता विकास गर्ने कुरा प्रमाणित नै छ । घरमा एउटा मात्रै यस्तो गाई भएमा धेरै रोगव्याधी र समस्या समाधान हुन्छ भनेर विज्ञानले नै भनेको छ । शास्त्रको कुरा बेग्लै हो । प्राकृतिक गाईबाट बनेका पञ्चगव्यको महत्व नै बेग्लै छ । यो कुरा बुझ्नुपर्यो ।”

यो कुरा बुझाउन सरकारी तवरबाटै पहल हुनुपथ्र्यो तर उल्टै धेरै दूध दिने गाईभैँसी पाल्न प्रोत्साहन गरिरहेको छ । नश्ल सुधारका नाममा विदेशी प्रजातिको नश्ललाई स्थानीय पशुमा वर्णशङ्कर गराउने अभियान निरन्तर चलिरहेको छ । यस्तो नीतिले स्थानीय नश्ल भने सङ्कटग्रस्त अवस्थामा पुगेका झाले बताउनुभयो ।

कतिपय रैथाने जातका पशुपन्छी लोप भइसकेका र कतिपय लोपोन्मुख अवस्थामा रहेका नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रको अध्ययनले नै देखाउँछ । केन्द्रका अनुसार हाल नेपालमा सात प्रजातिका पशुपन्छीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन् । संयुक्त राष्ट्रसङ्घको खाद्य एवं कृषि सङ्गठन (एफएओ)मा तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी नौमुठे र याक गरी सातवटा नश्ल सूचीकृत गरिएका छन् ।

देशी गाईको महत्व

“इतिहास पढ्दा गाई भारत वर्षमा मात्रै थियो, विदेशमा वा पश्चिमाहरूको देशमा कुनै गाई थिएन । त्यहाँ डेढ, दुई सय वर्ष पहिले यहीँबाट गाईको महत्व विस्तार भएको हो । पछि ‘जेनेटिक मोडिफाई’ गरेर जर्सी, एचएफ बनाएर विश्वव्यापी गरिएको छ । नेपालमा रहेका अधिकांश गाई तिनै प्रजातिका छन्”, झाले भन्नुभयो ।

देशी गाई नेपाल र भारतको एक महत्त्वपूर्ण दूधको स्रोत हो । यी गाईहरूले उत्पादन गर्ने दूध स्वास्थ्यका लागि अत्यन्त फाइदाजन हुन्छ । गाईमा आधारित पञ्चगव्यको आआफ्नै वैज्ञानिक महत्व छ । आधुनिक विज्ञानले नै यी उत्पादन विभिन्नि रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्न सकिने प्रमाणित गरिसकेको छ ।

जानकारहरूका अनुसार गाई मात्र एक त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । यसको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट गरी करिब २४ वटा तत्व र क्यान्सर प्रतिरोधी औषधीय गुण, दूधमा रेडियो विकीरणबाट रक्षा गर्ने शक्ति हुनाका साथै मांसपेशी, छाला तथा रगतको विकासका लागि आवश्यक तत्व र त्यसबाट बनेका घ्यू, दही, मोही आदि स्वास्थ्यका लागि लाभकारी र आयुर्वेदिक औषधिमा प्रयोग गरिने गुण रहेको बताइन्छ ।

गोबरमा नाइट्रोजन, पोटासियम, कपर, मोलिब्डेनम, बोरक्स, कोबाल्ट सल्फेट, फस्फोरस, आइरन, म्यांगनीज, बोरोन, सोडियम पाइने र यो बायोग्यास तथा प्राकृतिक मलको रूपमा प्रयोग हुने गरेछ । अभियन्ता झा त देशी गाई प्राकृतिक जीवनको मुख्य आधारको रूपमा रहेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशी गाईलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवज बाँच्न सकिन्छ । त्यसो नहुँदा पृथ्वी, जल, अग्नि, आकाश, वायु गरी पाँच तत्वले बनेको एकीकृत चक्र खल्बलिएको छ ।” पूर्वप्रधानमन्त्री बिपी कोइरालाले यदि नेपाल समृद्ध हुनु छभने हरेक घरमा एउटा गाई, एक हलगोरु र जोत्ने खेत भनेका थिए तर उहाँकै पार्टीले त्यो बिर्सिएको उहाँको भनाइ छ ।

एउटा सिएको गोठालो बन्ने सपना

कृषिप्रधान नेपालमा कृषिलाई नै हेय भावले हेरिन्छ । खेतीयोग्य जमिन बन्जर बन्दैछन् तर हरेक युवाका लागि विदेश अन्तिम सपना बन्दैछ । अभियन्ता झा भने आफ्नो सबै सम्भावना छोडेर चार वर्षदेखि गाईको गोठालो बन्ने सपना बुनिरहनुभएको छ ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट (सिए) । सुविधाका हिसाबले एक सम्पन्न जीवनशैली । नपुगेको केही छैन तर उहाँ प्राकृतिक जीवन नै हरेक मानिसको अन्तिम गन्तव्य हो भन्ने निष्कर्षसहित त्यसको अभ्यास आफैँबाट सुरुआत गरिरहनुभएको छ । “हाम्रोमा जसले गाई चराउँछ त्यसलाई हेयदृष्टिले गोठालो भनिन्छ, हेला गरिन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय अव्यवस्थित जीवनशैली, अप्राकृतिक भोजन, माटो नछुने संस्कृति हाबी हुँदा हरेक मान्छे सुख खोज्ने नाममा रोगको सिकार बन्दैछ ।

“हामीले सनातन मान्यता छोड्यौँँ । खेतखलियान बर्सियौँ”, झा भन्नुहुन्छ, “मलाईचाहिँ यो स्वबोध भएको छ, जसले यस बाटोमा लाग्न प्रेरित गरेको छ । स्वास्थ्य हुनका लागि माटो वा प्रकृतिसँगै रम्नुपर्छ । यो संस्कारको रूपमा विस्तार गर्ने योजना छ ।”

यही स्वबोधले धनुषाको क्षीरेश्वरनाथ–८ दिगम्बरपुरमा ‘जनकधाम’ परियोजना सुरु भएको छ । बीस बिघामा फैलिएको यस धाममा हाल एक सय १० देशी गाईबाच्छा छन् । त्यहाँ २५ जनाले काम गरिरहेका छन् । गाईमा आधारित कृषि, हर्बल खेती, पञ्चगव्यको उपचार पद्धतिको विकास भइरहेको छ । रोचक त के छ भने त्यहाँ उत्पादित दूध दही बेचिँदैन ।

गोबर, गौमूत्र र दूधलगायत पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु उत्पादन हुन्छ । परियोजनाअन्तर्गन हाल ५० वटा गाईबाट दूघ उत्पादन सुरु भइसकेका र आगामी तीन वर्षभित्र एक हजारसम्म पुर्याउने लक्ष्य रहेको सञ्चालक झाले सुनाउनुभयो । उहाँका अनुसार यहाँ होमकेयर, प्रसनल केयर, फुड र मेडिसिन गरी चार किसिमका उत्पादन भइरहेका छन् ।

“समाज र जीवनको जति पनि तप्का र आयाम छन्, त्योसँग गाईको सम्बन्ध कसरी जोडिएको छ भनेर प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी हामीले जनकधामको विकास गर्दैछौँ । धर्म, रोजगारी, युवा, औषधि, स्वास्थ्य, विद्यार्थी तालिम अभ्यासस्थल, शिक्षा, जैविक उत्पादन र प्रयोग एकै ठाउँमा देख्न सकिने बनाउँदैछौँ”, व्यवसायी झाले सुनाउनुभयो, “एग्रो, मेडिकल, आध्यात्मिक पर्यटनको विकास हाम्रो लक्ष्य हो । संसारभरिबाट जनकपुर हेर्न आएका मानिसलाई एकपटक जनकधाम हेर्नैपर्ने अवस्था निर्माण गर्ने गरी अगाडि बढ्दैछौँ ।”

पहिलो चरणमा गौ, गौ आधारित पञ्चगव्य र कृषि, दोस्रो चरणमा आयुर्वेद, नेचुरोप्याथी, फिजियोथेरापी र पञ्चगव्य उपचारका लागि अस्पताल, तेस्रो चरणमा जनककालीन सभ्यता तथा मिथिला संस्कृति झल्किने अवस्था निर्माण गरी भावी पुस्ताले अध्ययन गर्ने स्थल बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यो परियोजनाबाट कमाउनेभन्दा पनि आफू प्रकृतितर्फ फर्किने र अरुलाई पनि त्यो सन्देश दिने उद्देश्य रहेको झाको कथन छ । “घरमा एउटा देशी गाई भएमा स्वास्थ्यको बजेट शून्य हुन्छ । अचेल घरघरमा कुकुर छ तर गाई छैन । पहिले कुकुर घर बाहिर ढोकामा, गाई घरमा हुन्थ्यो तर अहिले गाई सडकमा, कुकुर ओछ्यानमा छ”, उहाँ भन्नुहुन्छ । सहरबजारका पनि आठ–दश परिवार मिलेर अलि टाढा गाई पाल्न सकिने उहाँको भनाइ छ ।

प्राकृतिक जीवनशैली र उद्यमशीलता विकासका साथै रैथाने गाई संरक्षणमा यसले उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ । हाल गौशालामा एक सय १० वटा गाई छन्, दूध दिने १८ मात्रै । दूध त बोनस मात्रै हो । दूध गाईको मुख्य उत्पादन होइन, मुख्य कुरा गौमूत्र र गोबर हो । यो देखाउन जनकधाम बनेको बताइएको छ । रैथाने गाई मार्ने, दूधका लागि भनेर जर्सी गाई ल्याउने, दूध दिन छाडेपछि सडकमा फाल्ने, यो प्रवृत्तिविरुद्धको अभियानका रूपमा पनि जनकधामलाई लिने गरिएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.