अन्यत्र पढ्न माग गर्दै नोबेलमा रिले अनशन
नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट पास गरेर नोबेल मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थीले अन्य शिक्षण अस्पताल स्थानन्तरण गर्न पाउनुपर्ने माग गर्दै आजदेखि माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका हुन् ।
उक्त कलेजमा पढ्ने विद्यार्थीले सरकारले बनाएको नियम, कानुन नमान्ने मेडिकल कलेजबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण माग गर्दै रिले अनशन सुरु गरिएको विद्यार्थी रुपेश पौडेलले जानकारी दिनुभयो ।
उहाँले विगत ८० दिनदेखि निरन्तररूपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरेको बताउनुभयो ।
“उपत्यका बाहिरका मेडिकल कलेजले रु ४४ लाखमा एमबिबीएस पढाउन भनेपनि नोबेल मेडिकल कलेजले त्यो शुल्कभन्दा बढी लिएपछि आफूहरु आन्दोलित हुनुपरेको हो”, उहाँले भन्नुभयो ।
उहाँले नोबेल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनका लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्