प्रदेशबागमती

‘जनसरोकारका विषयले प्राथमिकता पाउनुपर्छ’

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नियमित बस्ने बैठकको शून्य समय, विशेष समय र अतिरिक्त राष्ट्रिय सरोकारको सङ्कल्प प्रस्ताव ल्याइँदा जनताको जीवनशैली परिवर्तन ल्याउने खालका विषयले प्रथमिकता पाउनुपर्ने बताउनुभएको छ । त्यस्ता समाचारलाई सञ्चारकर्मीले पनि इमान्दारितापूर्वक सार्वजनिक गर्नुपर्ने उहाँका भनाइ छ ।

बागमती प्रदेशसभा सचिवालयद्वारा चितवनको सौराहमा शुक्रबार आयोजित साक्षात्कार एवं संसदीय रिपोर्टिङसम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना लगतै प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासमा निकै उत्साह थपिएको उल्लेख गर्नुभयो ।

सञ्चारकर्मीले संसद्को रिपोर्टिङ गर्दा प्रचारमूखी मात्र नभई संसद्ले पारित गरेका राष्ट्रिय सरोकारको विषय र जनताप्रति उत्तर दायित्व बहन गर्ने भूमिकालाई उच्च प्राथमिकताको साथ सम्प्रेशण गर्न सभामुख पाठकले आग्रह गर्नुभयो ।

प्रदेशसभाको वर्षे र हिउँदे बैठकले प्रदेश सरकारलाई मार्ग दर्शन गर्ने बताउँदै उहाँले विभिन्न विधेयकको दफावार छलफल गर्ने तथा बजेट र योजनाको बाँडफाँट गर्ने क्रममा प्रदेशसभाको कूल बैठकबाट सदस्यले उठाउनुभएका राष्ट्रिय महत्वको विषयलाई सञ्चारकर्मीले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा उपसभामुख अपसरा चापागाईँ खत्रीले प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका राष्ट्रिय सरोकारको महत्त्वको विषयमा साथै कृषि, पर्यटन, वनस्पतिको प्रवद्र्धन, वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका मानव बस्तीलाई संरक्षण गर्दै विधेयक, राष्ट्रिय गौरवका आयोजनालगायत सरकारको ध्यानाकर्षण गर्ने खालको समाचारलाई सञ्चारकर्मीले निष्पक्ष र इमान्दारिताका साथ सम्प्रेशण गरी सर्वसाधारणलाई सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले संसद् सचिवालयले संसद्को बैठकमा नियमित प्रस्तुत हुने विधेयक, विभिन्न समयमा भएको निर्णयलाई जनसरोकारको विषयलाई अनुगमन गरेर रिपोर्टिङ गर्नुपर्ने क्रममालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासङ्घ बागमतीका कार्यबहाक अध्यक रुपेश दुलाल र संसद् सचिवालयका अधिकृत सुन्दर बास्कोटाले क्रमशः संसद सचिवालयमा हुने विधेयकको दर्ता, संसद्को पूर्णबैठकमा हुने विभिन्न विधेयकको दफावार छलफल हुने र जनहितका लागि प्रभाव पार्ने नीति तथा कार्यक्रमलाई पनि प्रदेशसभाका सभामुख र उपसभामुख समन्वय गरेर अघि बढ्नुपर्ने भूमिकालाई जोड दिनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सञ्चार विज्ञ हरिबहादुर थापाले संसदीय संवाददाता, खोज तथा लेखनशैली र जनप्रतिनिधिसँगको सम्बन्ध र प्रदेशसभा सचिवालयका कानुन अधिकृत मनोजकुमार गुप्ताले प्रदेशसभा सूचनासम्बन्धी विषय र कार्यपरामर्श समितिमा दर्ता हुने विधेयक र कति घण्टाको समयभित्र प्रदेशसभाको पूर्णबैठकमा विधेयक प्रस्तुत हुने विषयमा सञ्चारकर्मीलाई सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संसद्मा रिपोर्टिङ गर्ने मकवानपुरका ३७ र चितवनको तीन जना गरी ४० जना सञ्चारकर्मीको सहभागीता रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.