ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तत्कालीन समयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका कारणले नभएर भारतले विजुली दिएर लोडसेडिङ अन्त्य भएको दावी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा उठेका प्रश्नको जवाफ दिंदै सो दावी गर्नुभएको हो ।
उठेका प्रश्नहरुको उत्तर दिने क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको पनि बताउनुभयो ।
मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको जानकारी दिनुभयो ।
पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर पठाएकाले समस्या भएको उहाँको भनाइ छ ।
त्यस क्रममा उहाँले विद्युत प्राधिकरण नाफामा रहेको तथ्य गलत रहेको समेत दावी गर्दै डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने रु २२ अर्ब रकम समेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको बताउनुभयो ।
विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको उल्लेख गर्दै उहाँले वास्तविकता पत्ता लगाएर मात्रै शेयर बिक्री गरिने जानकारी दिनुभयो ।
मन्त्री खड्काले भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै यस विषयमा आवश्यक अनुसन्धान गरिने पनि बताउनुभयो ।
उहाँले कार्यकारी निर्देशक कुलमानले मन्त्रालयको निर्देशन अटेर गरेको आरोप लगाउँदै नीति, नियम तथा कानुन सबैले मान्नुपर्नेमा र ऊर्जा मन्त्रालय पनि सोहीअनुसारको व्यवहार गर्न/गराउन लागिरहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्