शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम
सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो ।
राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तालिम शुभारम्भ गर्दै रक्षा सचिव शर्माले राष्ट्रिय रणनीतिक योजना र नीति तर्जुमा गरी कार्यान्वयन गर्न गैरसैनिक एवं सुरक्षासँग सम्बन्धित निकायबीचको समझदारी अभिवृद्धि गर्न तालिमबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले तालिमको महत्वबारे जानकारी गराउनुभयो । आगामी चैत ११ गतेसम्म सञ्चालन हुने तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय, नेपाल रेडक्रसका वरिष्ठ अधिकारी र सञ्चारकर्मीसहित २७ जना सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्