विश्व समाचार

चिनियाँ लगानीका कारण विदेशी शक्तिले पदबाट बर्खास्त गरेको राजपक्षेको दाबी

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गर्नुभएको छ ।

टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उहाँको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गर्नुभयो । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो ।

यसको सट्टा उहाँका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उहाँलाई सत्ताबाट हटायो । “मलाई सत्ताबाट हटाउनका लागि चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

राजपक्षेले निश्चित मुलुकहरूको नाम लिनुभएन तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो ।

आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजपक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलङ्काबाट बाहिर लगिएको थियो र उहाँले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गर्नुभएको थियो । यद्यपि पछि उहाँ स्वदेश फर्किसक्नुभएको छ ।

पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दावी गर्नुभएको छ ।

बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् ।

चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ ।

आफ्ना दाजु महिन्दा राष्ट्रपति रहँदा शीर्ष रक्षा अधिकारीका रूपमा काम गर्दै सन् २००९ मा श्रीलङ्काको लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरेकामा राजपक्षेलाई कुनै समय सिंहाली बौद्ध बहुसङ्ख्यकबीच सम्मानित गरिएको थियो ।

सन् २०१९ मा भएको निर्वाचनमा उहाँ राष्ट्रपति पदमा भारी मतले विजयी हुनुभयो । यद्यपि सुपरमार्केटका र्याकहरू खाली भएपछि र पेट्रोल स्टेसनहरूमा धेरै दिनसम्म लामो लाइन लागिरहेपछि तीन वर्षभन्दा पनि कम समयमा श्रीलङ्काको अर्थतन्त्र धरासायी भएसँगै उहँको लोकप्रियतामा कमी आयो ।

अर्थशास्त्रीहरूले अचानक देखिएको मन्दीका लागि राजपक्षे सरकारले सोचविचार नगरी करमा गरेको कटौतीलाई दोष दिएका छन् । कर कटौतीका कारण कोरोना भाइरस महामारीपछि विदेशी मुद्रा सञ्चितिमा भएको गिरावटको जवाफ दिन राजपक्षे सरकार असमर्थ रह्यो ।

राजनीतिक टिप्पणीकार कुशल परेराले राजपक्षेको पतन उहाँको अर्थतन्त्र सम्हाल्ने अयोग्यताका कारण भएको बताउनुभयो । “मिडिया प्रचारका कारण उहाँ सिंहाली–बौद्ध नेताका रूपमा लोकप्रिय हुनुहुन्थ्यो तर उहाँ केही गर्न असमर्थ हुनुहुन्थ्यो”, परेराले भन्नुभयो ।

राजपक्षेका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको उद्धार प्याकेजमा वार्ता गर्दै सरकारी वित्त पुनःस्थापना गर्न करमा तीव्रताका साथ वृद्धि गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.