विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने जागृति एकेडेमीको शिक्षिका पक्राउ, विद्यालय दियो अवकाश
विद्यार्थीलाई हिंसात्मक दण्ड दिने जडिबुटिस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै विद्यालयले पनि उनलाई शिक्षिकाबाट अवकास दिएको छ ।
परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको आरोपमा वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो । उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताउनुभएको छ ।
शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् । उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार लेखेको थियो । विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन् । कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन् ।
नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थीलाई सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिर्न दवाव दिएकी थिइन् । उनले १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात ९नाडी० चिर्न लगाएको आरोप छ। विद्यार्थीका हातमा एकभन्दा धेरै ठाउँमा ब्लेडले चिरा पारेपछि घटना बाहिर आएको थियो ।
शिक्षिका कर्माचार्यलाई शुक्रबार एकेडेमीले जागिरबाट हटाउने निर्णय गरेको छ । एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्