राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथि : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था रहेकाले गणतन्त्रवादी दलहरुसंग चुनाव लड्न आफूहरू नै काफी रहेको बताउनुभएको छ ।

शनिबार वीरगञ्जमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था हो । चुनाव लड्न राजा जानु पर्दैन हामीहरू नै काफी छौं ।”
फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आव्हान नगर्दै विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्रीदेखि अहिलेका सबै ठूला दलका नेताहरुले राजाले राजनीति गर्न लागेको भन्दै आलोचना गरिरहेका छन् ।
राजाको विज्ञप्तिसंगै राजसंस्थाको पक्षमा प्रदर्शन समेत भएको छ । यसपछि सरकारमा रहेका नेताहरुले राजालाई नजरबन्दमा राख्ने तयारी गरेको चर्चा चलिरहेको छ भने कतिपयले पार्टी खोलेर चुनाव लड्न सुझाव दिइरहेका छन् ।
यसैको उत्तर दिंदै अध्यक्ष लिङ्देनले आफूहरूले पार्टी विशेषको नभई देशको राजा ल्याउन खोजेको बताउँद भन्नुभयो, “हामीले कुनै राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।”
सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले राजस्वबाट कर्मचारीको तलब पनि खुवाउन नपुग्ने अवस्थामा मुलुक पुगेको भन्दै आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्न नसक्ने परिस्थिति सृजना हुन लाग्यो ।”
उहाँले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताउँदै एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्