अर्थकृषि

विश्व खाद्य कार्यक्रमले पठायो नेपालमा गुणस्तरहीन चामल

इटलीबाट ल्याइएको चामल प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल खान अयोग्य रहेको

विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । भन्सार कार्यालयले रोकिदिएपछि कन्टेनरका मजदुर फर्केर घर जान पाएका छैनन्, न त उनीहरूका लागि खाने र बस्ने उचित व्यवस्था नै छ

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ ।

गत माघ १७ मा नेपालगन्ज भन्सार कार्यालयले नमुना पठाएको चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जाँच गर्दा आयात गर्न नमिल्ने अवस्थामा भेटिएको थियो ।

प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो ।

भन्सार कार्यालयले गुणस्तहीन चामल फिर्ता नलगे भन्सार ऐन तथा नियमावलीअनुसार नष्ट गर्ने जनाएको छ । सूचना अधिकृत शर्माका अनुसार चामल गुणस्तरहीन प्रमाणित भएपछि विश्व खाद्य कार्यक्रमका कुनै कर्मचारी सम्पर्कमा आएका छैनन् ।

ससर्त फिर्ता लैजान सक्ने व्यवस्था छ तर, त्यसका लागि पनि निश्चित समय सीमाभित्र गुणस्तरीय चामल ल्याउने लिखित सर्तसहितको निवेदन दिनुपर्छ । भन्सारबाट प्राप्त हुन सक्ने उल्लिखित सुविधाअनुरूप आयातकर्ता विश्व खाद्य कार्यक्रमका अधिकारीले अखाद्य चामलसहितका कन्टेनर फिर्ता नगरे सरोकारवालासहितको उपस्थितिमा नष्ट गर्ने पक्षमा भन्सार पुगेको शर्माले बताउनुभयो ।

तर, विश्व खाद्य कार्यक्रमका अधिकारी भन्सारले दिन सक्ने उक्त सुविधाअनुरूप खान नहुने चामल फिर्ता गरी अर्को खेप ल्याउन पाउने मौका चुकाउँदै गएका छन् । किनकि भन्सार कार्यालय अब धेरै समय पर्खिन सक्ने पक्षमा देखिएको छैन ।

विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ । यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.