कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ ।

आइतबार सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।
प्रदेशमा रहेको आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटक आगमन बढाउन स्थानीय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा आजदेखि सुरु भएको मार्ट यही २७ गतेसम्म सञ्चालन हुनेछ ।
मार्टको उद्घाटन समारोहमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भूटान र बङ्गलादेशलगायत मुलुकका विदेशी पर्यटकहरूको उपस्थिति रहेको छ भने कार्यक्रम अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने मार्टका सचिव वासुदेव बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्