अग्लो पहाडमा टक्क अडिएको थामचौर, पर्यटकको पर्खाइमा (भिडियोसहित)
समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिएको छ । अझ यहाँबाट देखिने अनगिन्ती दृश्यले धेरैलाई मोहित पार्छ ।

उत्तर तिर सेताम्य दाँत देखाएर हाँसेझै देखिने हिमश्रृङ्खला, लालिगुराँस फुलेर रातम्या बनेका जंगल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो ।
मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित बन्न सकेको छैन । शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मेटाउँछ । बडिगाड गाउँपालिका–७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी र पदैल यात्रा दुवै तरीकाले पुग्न सकिन्छ ।
भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाई दिन्छ ।
आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलहरुले पर्यटकलाई स्वागत गरि रहेका छन् । थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुम लगायत थुप्रै ठाउँहरु एकै स्थानबाट सहजै देख्न सकिन्छ । त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु पनि नजिकैबाट देख्न सकिन्छ ।
अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जंगल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रुपमा लिइन्छ । पर्यटकले गाउँले जनजीवनको स्वादन गर्दै थामचौर पुग्न सक्छन् । पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरि रहेको छ । विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले शार्वजनिक शौचालय, पोखरी, मन्दिर लगायतका पूर्वधार निर्माण गर्न ५० लाख खर्च गरि सकेको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि सडक मार्गको असहजताका कारण थामचौरमा धेरै पर्यटक पुग्न सकेका छैनन् । यहाँको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार लाग्नु पर्ने आवश्यक देखिन्छ ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्