क्रिकेटखेल

बागमतीमाथि आर्मीको सानदार जित

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बागमतीमाथि १३४ रनको सानदार जित निकाल्दै आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रधानमन्त्री कप

रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।

यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । त्यस्तै तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले समान दुई-दुई तथा सोनु देवकोटाले एक विकेट लिए । आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य लिएर मैदान उत्रेको बागमती २७ ओभरमा १२८ रनमै अलआउट भयो ।

बागमतीका लागि विवेक मगरले ५० बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१ रनको अद्र्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इशान पाण्डेले १९ र आशुतोष घिरैयाले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि शहाब आलामले चार विकेट लिए भने आकाश चन्दले तीन विकेट लिंदा सोमपाल कामी र असिर अहमदको भागमा समान एक-एक विकेट रह्यो ।

जारी प्रतियोगितामा बागमतीको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा बागमती एपीएफसँग पराजित भएको थियो ।

Edit Post

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.