शिक्षकहरु रिले अनशनदेखि सडक आन्दोलनसम्म, आजदेखि पार्टी कार्यालयमा धर्ना
विद्यालय शिक्षा विधेयक अविलम्ब संसदबाट पारित गराउन दवाव दिंदै आएको नेपाल शिक्षक महासंघले चैत्र ५ गतेसम्मको अल्टिमेटम दिएर थप आन्दोलन घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम अनुसार आज (फागुन २७ गते) देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम तय गरिएको छ ।
महासंघले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौँमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाउने घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताउनुभयो ।
महासंघले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासंघको आपत्ति छ ।
महासंघका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताउनुभयो ।
उहाँका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ ।
आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्