अर्थकर्पोरेट/पर्यटन

बदलिदो ओलाङचुङगोला उहिले र अहिले (भिडियोसहित)

ताप्लेजुङको ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ । यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ मा अवस्थित ओलाङचुङगोला एक परम्परागत व्यापारिक नाका हो । चीन (तिब्बत) को नेपालसँग जोडिएको परम्परागत चिनियाँ नाका रिउ बजार हो । रिउ शब्दको अन्य नेपाली शाब्दिक उच्चारण ‘रिव, रियु’ पनि हुन्छ । यस क्षेत्रका लागि यो नाका भएर प्राचीन कालदेखि भोट तिब्बतबाट नुन, सुन, ऊनलगायतका वस्तु आयात हुने गर्थे ।

नेपाली व्यापारीहरूले यी वस्तुसँग अन्नपात, कपडा आदि साट्ने गर्थे । यसरी सामानले सामान साट्ने प्रणाली ‘बार्टर सिस्टम’ को जगबाट अगाडि बढेको यो नाका हाल समयसापेक्ष आधुनिक बन्दै जाने क्रममा छ । यो आधुनिक व्यापारिक नाकाको स्थापना सन् १९५६ मा भएको हो । यो नाका स्थापनाको सैद्धान्तिक अवधारणा शान्तिपूर्ण सहअस्तित्व (पञ्चशील) सिद्धान्तका आधारमा नेपाल–चीन सम्बन्ध सुदृढ हुनु पर्छ भन्ने मूल्य मान्यताबाट विकास भएको हो ।

नेपाल–चीन व्यापार सम्झौता १९ मे, १९६४ ले दुईदेशीय सीमावर्ती बासिन्दालाई आधुनिक व्यापारिक सुविधा प्रदान गरेको छ । यसले नेपाल र चीनको सिमानाबाट दुवैतर्फ ३०–३० किलोमिटर भूमिसम्म सामान्य परम्परागत व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने अधिकारलाई व्यवस्थापन गरेको छ ।

यसरी चीन (तिब्बत) सँग सीमा जोडिएका नेपालको ताप्लेजुङलगायतका जिल्लावासीका निम्ति ६ नोभेम्बर, २००५ देखि चीन (तिब्बत) को ३० किलोमिटरभित्र सोही जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट ‘प्रवेश अनुमतिपत्र’ लिएर बन्दव्यापार, आवतजावत गर्न पाउने थप व्यवस्था गरिएको छ ।

यो अभ्यासले विश्वमा दुईदेशीय परम्परागत उच्चभेगीय हिमालय सीमापार भएर सञ्चालन भइरहेको बार्टर प्रणालीलाई आधुनिक मुद्रा विनिमय प्रणालीमा रूपान्तरण गर्दै व्यापार विविधीकरण, प्रवर्धन गरेको छ ।

सोही प्रयोजनका लागि यस जिल्लाका ओलाङचुङगोला, लेलेप, पापुङ, याम्फुदिनलगायतका हिमालवासीले पारि रिउ बजारबाट सहज रूपमा व्यापारिक, व्यावसायिक क्रियाकलापबाट लाभ लिइरहेका छन् तर यहाँका समग्र नागरिकताधारी जिल्लावासीले सीमावर्ती रिउ बजारको ३० किलोमिटरभित्रसम्म गएर निर्बाध रूपमा आआफ्नो व्यापार, व्यवसाय गर्न पाउने अधिकारबाट अझै भरपुर फाइदा लिन सकिरहेका छैनन् ।

ताप्लेजुङका नागरिकले पाएको जस्तै अधिकार चीन (तिब्बत) सँग जोडिएका नेपालका अन्य बाँकी १४ जिल्ला क्रमशः सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु, बझाङ र दार्चुलाका नागरिकले पनि प्राप्त गरेका छन् ।

बृहत् दृष्टिकोणबाट मनन गर्दा तिब्बती पठारसँग जडित पूर्वोत्तर जिल्ला ताप्लेजुङदेखि पश्चिमोत्तर जिल्ला दार्चुलासम्मको नेपाल–चीन हिमालय सीमापार व्यापार एक दीर्घकालीन अवधारणा हो । यसले ताप्लेजुङ–दार्चुला राष्ट्रिय व्यापार प्रवर्धनमा सङ्घीय एकता कायम गर्न सक्छ । यसले दुईदेशीय स्थानीय सीमावर्ती अधिकारलाई अक्षुण्ण राख्न सक्छ । हिमाली अर्थतन्त्रलाई सुदृढ गर्न सक्छ । हिमालवासीको आर्थिक उन्नति, प्रगतिमा समृद्धि ल्याउन सक्छ ।

भूपरिवेष्टित नियतिलाई भूजडित व्यवहारमा रूपान्तरण गर्न मद्दत गर्दछ । राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ । दुईदेशीय आर्थिक समृद्धिलाई थप टेवा पुर्याउने उद्देश्यले नेपाल सरकार र चीन सरकारबिच १२ सेप्टेम्बर, १९८४ मा भएको व्यापार तथा भुक्तानी सम्झौताकै परिणामस्वरूप यस क्षेत्रमा ओलाङचुङगोला–रिउ व्यापारिक नाका भएर आधुनिक व्यापार विस्तार गरिएको हो ।

त्यसै गरी ओलाङचुङगोलास्थित उत्तरी सीमा क्षेत्रीय प्रशासन कार्यालयको स्थापना २०२२ पुस १५ गते भएको थियो । यो कार्यालयले सीमावर्ती क्षेत्रको स्थानीय व्यापारिक प्रशासन र शान्ति सुरक्षा प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हिमालय सीमापार व्यापार विविधीकरणको जीवनरेखा यहाँको सडक सञ्जालमा निर्भर रहेको छ । यहाँ त्यो सडक भनेको तमोर कोरिडोर हो ।

तमोर कोरिडोर तिप्ताला भन्ज्याङमा पुगेर टुङ्गिन्छ । फुङलिङ नगरपालिकाबाट नेपाल–चीन सीमावर्ती व्यापारिक नाका तिप्ताला भन्ज्याङसम्म पुग्ने मोटरेबल बाटोको दुरी करिब १०८ किलोमिटर रहेको छ । ओलाङचुङगोलादेखि तिप्ताला भन्ज्याङसम्मको करिब २१ किलोमिटर मोटरेबल बाटो यस क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा खोलिएको हो ।

यो बाटो निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइएको थियो । तिप्ताला भन्ज्याङदेखि सङ्घीय राजधानी काठमाडौँसम्मको मोटरेबल बाटोको दुरी करिब ९६० किलोमिटर छ ।

ओलोङचुङगोला–तिप्ताला मोटरेबल बाटो निर्माण भएपछि नेपाली उत्पादित सामग्रीहरू तिब्बतको रिउ बजारमा, चिनियाँ सामानहरू नेपालको ओलोङचुङगोलामा आयात निर्यात गर्न सहज भएको छ । नेपाली हातले बुनेका ऊनी गलैँचा र कम्बलहरू चिनियाँ बजारका व्यापारीहरू र सीमावर्ती गाउँका तिब्बतवासीलाई बिक्री गरिन्छ ।

सीमावर्ती नेपाली उद्योगी, व्यवसायी, व्यापारीहरूले स्थानीय रूपमा ओलाङचुङगोला भन्सार कार्यालयबाट तिप्ताला भन्ज्याङ हुँदै चीनतर्फ औषधीजन्य जडीबुटी, ऊनी कम्बल, चौँरीलगायतका सामान नगन्य मात्रामा निर्यात गर्ने गरेका छन् । ओलाङचुङगोला त्यो व्यापारिक केन्द्र हो; जहाँ गलैँचा बुन्ने, गेस्टहाउस सञ्चालन गर्ने, चीन (तिब्बत) बाट यस जिल्लामा ल्याइएका विद्युतीय सामानलगायत विभिन्न चिनियाँ उत्पादन बिक्री गर्ने गरिन्छ ।

ओलाङचुङगोलावासीले याक, चौँरी र गलैँचा उत्पादन प्रशस्त आर्थिक उन्नति, प्रगति गरेका छन् । यहाँ उत्पादित छुर्पीले विश्व बजारमा राम्रै मूल्य पाएको छ । चिनियाँ रिउ बजार सुविधासम्पन्न भएकाले ओलाङचुङगोलावासीलाई औषधी उपचार गर्न जान सहज हुने छ । यो नाका आर्थिक कारोबारसँग मात्र सीमित छैन, नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने कूटनीतिक परम्परागत नाकाका रूपमा पनि स्थापित छ ।

गुरु पद्मसम्भवले ओलाङचुङगोलामा ध्यान गर्नुभएको थियो । पद्मसम्भवलाई चीनमा गुरु रिम्पोछे भनिन्छ । यस अर्थमा चिनियाँको मन मस्तिष्कमा गुरु रिम्पोछे (पद्मसम्भव) ले ध्यान गरेको क्षेत्र ओलाङचुङगोला चिनियाँको सर्वाधिक चासो र महत्वको रोजाइमा परेको बुझिन्छ । ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ ।

यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ । यो ताल हेर्नका लागि देश–विदेशबाट पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

ओलाङचुङगोलामा पारि रिउ बजारबाट आउने चिनियाँ व्यापारी तथा पर्यटकलाई ध्यानमा राखी नेपाल सरकारले थप समयसापेक्ष नीति, कूटनीति, रणनीति लिन आवश्यक रहेको ताप्लेजुङवासीको अपेक्षा छ । चीन आधुनिक विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश हो । सबल अर्थतन्त्रको तथ्याङ्कीय हिसाब हेर्दा अमेरिकालाई पछाडि पारिसकेको चीनले पाँचौँ, छैटौँ शताब्दीमा जस्तै यो आधुनिक शताब्दीमा पनि चीनले नै विश्वलाई आर्थिक नेतृत्व प्रदान गरिरहेको छ ।

आजको पृथ्वीमा चिनियाँ विश्व आदेश (वल्र्ड अर्डर) चलिरहेको छ । यस्तो समयमा उत्तरी सँधियार मित्रराष्ट्र चीनको दक्षिणी अर्को सँधियार मित्रराष्ट्र नेपालले पनि भरपुर फाइदा लिन सक्नु पर्दछ तर त्यसका लागि नेपालतर्फको सीमावर्ती मोटरेबल बाटो सुविधासम्पन्न हुनुपर्ने छ । अत्याधुनिक सुविधासम्पन्न सीमावर्ती भन्सार कार्यालय हुनुपर्ने छ । सुविधायुक्त सीमावर्ती क्वारेनटाइन कार्यालय, ड्राइपोर्ट, गोदाम घर, स्वास्थ्य चौकी हुनुपर्ने छ ।

फराकिलो र सुरक्षित पार्किङ स्थल, लज, होटल, मोटल, बैङ्किङ सुविधा, मुद्रा सटही काउन्टर, शान्ति सुरक्षा र भूकम्पीय मापदण्डमा आधारित भौतिक पूर्वाधारको प्रत्याभूति हुनुपर्ने छ । नेपाली सीमावर्ती भूमिमा यी सबै पूर्वाधार अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधासम्पन्न हुनुपर्ने ताप्लेजुङवासीको चाहना छ ।

यसरी मित्रराष्ट्र चीन (तिब्बत) भूमिमा विद्यमान सुविधासम्पन्न सीमावर्ती क्षेत्रको सामुन्ने नेपाली भूमिमा अवस्थित सुविधासम्पन्न सीमावर्ती भौतिक पूर्वाधारहरूको स्तरीयताले नेपाल र नेपालीकै प्रतिष्ठा उँचो उठ्ने छ । अन्ततः भविष्यमा ‘ओलाङचुङगोला–रिउ नाका’ समृद्धिको ढोका सिद्ध हुने जनविश्वास छ ।(रासस)

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.