राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित
माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो ।
मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो ।
दाहाल सत्तारुढ दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका तुलप्रसाद विश्वकर्मा सदस्य छन् ।
प्रतिक्रिया राख्नुहोस्