रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता पठाउन रुसी राजदूतसंग आग्रह
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाललाई फिर्ता पठाउन नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभसंग आग्रह गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा मंगलबार राजदूत नोभिकोभले गर्नुभएको शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले सो आग्रह गर्नुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्नका साथै मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि पनि आग्रह गर्नुभएको थियो ।
यसै गरी मंगलबार नै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले बिद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गर्नुभएको थियो ।
भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्