जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । कपिलबस्तु, शिवराज नगरपालिका-९ बिजगौरी थारुगाउँ बस्ने चुन गुडुवा थारुको गोठमा सोमबार दिउँसो भएको आगलागी फैलिएर सोही ठाउँ बस्ने रामलौतन थारू, करिङ्गा थारू, कृष्ण थारू र बाबुराम थारूको समेत विभिन्न सरसमान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै धनकुटा, महालक्ष्मी नगरपालिका-४ चानुवा अधिकारीटोलस्थित जंगलमा भएको आगलागी फैलिएर सोही ठाउँ बस्ने लेखनाथ अधिकारीको ३ वटा गोठघर पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ र रत्न सुन्दासको घरमा समेत पूर्णरुपमा जलेर करिब ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित कर्णाली चिसापानी पुलमा वीरगंज पर्साबाट लाईटर लोड गरी सुदूरपश्चिम प्रदेशतर्फ जाँदै गरेको ना.५ख ५२९७ नम्बरको ट्रकमा सोमबार दिउँसो आगलागी हुँदा ट्रक पूर्ण रुपमा जलेर करिब २५ लाख रूपैयाँ र ट्रकमा रहेको लाइटर करिब १ करोड २ लाख गरी जम्मा करिब १ करोड २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता अर्घाखाँची, शीतगंगा नगरपालिका-१२ बसेरीस्थित सडकमा ना.५ ख २०८३ नम्बरको अलकत्रा बोकेको गाडीमा पिच गर्ने क्रममा सोमबार साँझ आगलागी हुँदा गाडीको पछाडीको भाग जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । यता बाजुरा, बडीमालिका नगरपालिका-६ नुनेपानी बस्ने उमेश बहादुर कार्कीको होटलमा सोमबार राति आगलागी हुँदा होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर क्षति भएको छ । क्षतिको विवरण हाल आउँन बाँकी रहेको छ ।

यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-१ चौलिखा बस्ने जय किशोर साहको घरमा ग्याँस लिकेज भई सोमबार बेलुकी आगलागी हुँदा उनको कच्ची घर, पक्की घरको माथिल्लो तला, नगद २ लाख भारतीय रूपैयाँ, ४ लाख नेपाली रूपैयाँ, सुन र चाँदीका विभिन्न गरगहना, १ थान मोटरसाइकल र २ थान साइकल समेत गरी करिब ५६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी भोजपुर, षडानन्द नगरपालिका-१० रिठ्ठाबोटे बस्ने ५० वर्षीय डम्बर बहादुर राईको कच्ची घरमा गएराति आगलागी हुँदा काठपात, भाडावर्तन, लताकपडा, नगद ५० हजार रूपैयाँ गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित सनराईज कन्टेनर प्रालि प्लास्टिकको बट्टा बनाउने मेसिनमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको मेसिनको भाग जलेर नष्ट भएको छ ।

त्यस्तै सप्तरी, सुरुङगा नगरपालिका-९ टिकुलिया टोल बस्ने मखुल मियाँको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.