कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको कुरा उठाएपछि संसदमा बबण्डर (भिडियो)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका एक नेताले सरकारी जग्गा कब्जा गरेको कुरा उठाएपछि कांग्रेस सांसदहरु आक्रोशित भए ।

संसद बैठकमा सरकारको प्रतिनिधित्व नभएपछि १५ मिनेटका लागि स्थगित बैठक पुनः सुरु हुनासाथ काठमाडौं क्षेत्र नं. ६ का सांसद खनालले तारकेश्वर नगरपालिकामा रहेको सरकारी जग्गा कब्जा गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
खनालले सरकारको ध्यानाकर्षण गरेपछि नेपाली कांग्रेसका सांसदहरुले उठेर बिरोध जनाउन खोजेपछि सभामुख देवराज घिमिरेले माइक दिनुभएन ।
लगत्तै पूर्व शिक्षामन्त्री सुमनाले स्ववियू निर्वाचन अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा सत्तापक्षीय विद्यार्थी संगठनका नेताहरुले स्वतन्त्र विद्यार्थी समूहबाट सचिवका उम्मेदवारलाई सामूहिक आक्रमण गरेको आरोप लगाउनुभयो ।
सो विषयपछि सांसद श्रेष्ठले नेपाली कांग्रेसका एक नेताले तारकेश्वर नगरपालिकाको सरकारी जग्गा भोगचलन गरिरहेको र स्थानीयबासीले स्थानीय पालिकामा उजुरी दिंदा पनि कुनै पहल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद श्रेष्ठको भनाई सकिएपछि सत्तापक्षका सांसदहरुले उठेर बिरोध जनाएका थिए । सभामुखले कसैलाई पनि माइक नदिएका कारण कसले के आपत्ति जनाए त्यो सुन्न सकिएन ।
तर, सभामुख घिमिरेको भनाइ अनुसार माइक नदिएको अवस्था कसलाई के भन्ने भन्दै आपसी कानेखुसी गरेको आफूले सुनेकाले यस्तो कार्य नगर्न चेतावनी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्