क्रिकेटखेल

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल नामिबियासँग २३ रनले पराजित

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो चौथों खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन ।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक-एक विकेट लिए । नामिबियाले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय दुई रनमात्र बनायो ।

नेपालको लागि साना प्रवीनले ३१ रन बनाइन् भने कप्तान इन्दु बर्मा र पुजा महतोले समान १५-१५ रन जोडे । त्यस्तै कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे । नामिबियाको लागि इभेलीन केजारुकुवाले दुई विकेट लिइन् भने विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलको भागमा समान एक-एक विकेट रह्यो ।

जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.