जापान

अमेरिकाले इस्पातमा भन्सार शुल्क मुक्त नगरेपछि जापानद्वारा खेद व्यक्त

जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ ।

जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको सुचारु अवस्थाले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ ।

सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो ।

जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा प्रमुख सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (०४०० जिएमटी बुधबार) मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताउनुभयो ।

“व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ”, हयासीले पत्रकारहरूलाई भन्नुभयो, “जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ ।”

सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो । सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो । वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो ।

“जापानी इस्पात र एल्युमिनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन, बरु, हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ”, हयासीले भन्नुभयो ।

अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र आगामी सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गर्नुभएको थियो ।

“मन्त्री मुटोको अमेरिकी भ्रमणका क्रममा वासिङ्टनले जापानसँगको आफ्नो सम्बन्धलाई प्राथमिकताका रूपमा लिएको र संयुक्त राज्य अमेरिकामा जापानको लगानीका साथै अमेरिकी अर्थतन्त्रमा रोजगारीका माध्यमबाट खेलेको भूमिकालाई मूल्यवान ठानेको आफ्नो स्थिति व्यक्त गरेको थियो”, हयासीले भन्नुभयो ।

“संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियमको जापानी निर्यातको अनुपात… धेरै सानो छ, त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन”, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भन्नुभएको थियो ।

यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन् र त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

“सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ”, टोकुराले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.